Swastima Khadka Instagram – हामी प्रायः सोच्छौं कि आफूलाई पूर्ण रूपमा चिनेका छौं, तर जीवनले पटकपटक देखाउँछ कि आफूलाई चिन्नु र बुझ्नु कहिल्यै पूर्ण हुँदैन। नयाँ अनुभवहरू र नयाँ मान्छेहरूको संगतले कहिलेकाहीँ हाम्रो भित्रका अनदेखा पक्षहरू उजागर गर्छ, जसले हामीलाई नै अचम्ममा पार्न सक्छ। ती अनौंठा भावनाहरूले जीवनलाई झनै गहिरो र सुन्दर बनाउँछन्।
नेपाल प्रिमियर लिग (एनपीएल)का कारण म क्रिकेटसँग नजिक भएँ । दर्शक भएर हेर्दा मनमा हुने हलचल त मैले धेरै पटक भोगेकी थिएँ । तर, टिमकै सदस्यका रूपमा बसेर हेर्दा हुने उकुसमुकुस र छटपटीले मलाई जीवनको सांगोपांगो रहस्य बुझ्न सघायो । म कुनै खेलमा यसरी डुबेको पहिलो पटक थियो । यो भावना व्यक्त गर्न मसँग कुनै उपमा र अलंकार छैनन् ।
खेलले जीवनलाई सत्मार्गमा हिँड्न सिकाउँछन् । बलियो अनुशासन, टिम सहकार्य, मानसिक उपस्थितिसँगै खेलले धैर्यवान हुन सिकाउँछ । धैर्य गर्न सक्नेहरू कहिल्यै हार्दैनन् । जीवनका अनेक मोडहरूमा यो मन्त्र सम्झिँदै हिँड्ने हो भने हामी असफल भएर कहिल्यै लड्दैनौं । खेल हार्नु र जित्नु प्राविधिक विषय हुन् । तर, खेल हार्दा पनि जितको लक्ष्य बोकी हिँड्नेहरू हार्दै हार्दैनन् ।
मलाई जीवनको यो पाठ सिकाउन ‘कर्णाली याक्स’ले ठूलो आँगन दिएको छ । टिमका व्यवस्थापक र अन्य सदस्यहरूप्रति हार्दिक आभार । सबथोक खेललाई समर्पण गरेर मैदानमा उत्रिने हाम्रा प्रतिभावान् खेलाडीहरूप्रति नमन ।
कप्तान सोमपाल कामीको उत्कृष्ट कप्तानी र अद्भुत प्रदर्शनले मेरो मन जितेको छ। तपाईंप्रति मेरो प्रशंसा सदैव रहनेछ। म विश्वस्त छु, , आउँदो वर्ष हामी अझ बलियो रूपमा प्रस्तुत भएर त्यो ट्रफी उचाल्नेछौँ।
धेरै-धेरै धन्यवाद हाम्रा विदेशी खेलाडीहरूलाई । नेपाल र नेपाली क्रिकेटप्रति तपाईंहरूको माया लोभलाग्दो छ । तपाईंहरूको योगदानले हाम्रो टिमलाई अझ बलियो बनायो।
यो लेखिरहँदा मेरो मन भारी छ तर खुसी पनि छ । हाम्रो टिमले उपाधि चुम्न सकेन । यो वर्ष नेपाली क्रिकेटले सगरमाथा चुमेको छ । अर्को वर्ष त्यो सगरमाथामा हामी पुग्नेछौं ।
यो वर्ष हामीले खेल हारेका होइनौं, जित्नमात्र नसकेका हौं ।
र, मेरो हृदयको विशेष सम्मान पारस खड्काजीलाई। तपाईंले देख्नुभएको सपना साकार भएको साक्षी हुन पाउनु मेरो लागि ठूलो गर्वको कुरा हो। यो यात्रा केवल एक खेल मात्र नभएर, मन छुने अनुभव बन्यो।
अन्त्यमा, जनकपुर बोल्ट्सलाई पहिलो एनपीएल जितको लागि हृदयदेखि बधाई |
जय क्रिकेट !
@sompal_kami10 @paraskhadka77 @grihendra_ghimire @sohmmusic | Posted on 22/Dec/2024 19:35:23